ग्लोबल आइएई बैंक लिमिटेडले ‘ग्लोबल ईकम डलर कार्ड’जारी गरेको छ । अनलाइन मार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले ल्याएको विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्ने प्रावधानअनुरुप बैंकले यस्तो डलर कार्ड जारी गरेको हो ।
बैंकले जारी गरेको डलर कार्डबाट भारतबाहेक अनलाइन मार्फत सामान खरिद तथा अनलाइनबाट प्रवाह हुने सेवाहरु जस्तै नेटफ्लिक्स रिचार्ज, शैक्षिक शुल्क भुक्तानी गर्न तथा युट्युब, फेसबुक, ट्वीटर, वाट्सअप लगायत सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसाय प्रवर्धन गर्न सकिनेछ ।
ग्राहकले आफ्नो नागरिकता र प्यान कार्ड पेश गरेर बैंकमा खाताखोली ५०० रुपैयाँ सेवा शुल्क तिरेर यो सुविधा लिन सक्नेछन् । साथै कार्ड मार्फत कुनै पनि बैंकमा नगई घर तथा कार्यालय बाटै आँफैले सामानको भुक्तानी गर्न तथा अनलाइनमार्फत गरिने अन्य सेवा–सुविधाहरु लिन सक्नेछन् ।
हाल बैंकले मुलुकभर २७० शाखा, २४२ एटीएम, २५६ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ ।