Home अर्थतन्त्र एकै दिन रू. १९ करोडभन्दा बढीको दही विक्री

एकै दिन रू. १९ करोडभन्दा बढीको दही विक्री

by अर्थन्यूज

असार १५ का दिन दही चिउरा खाने प्रचलन भएकाले मंगलवार एकै दिन देशभर १९ करोड रूपैयाँभन्दा बढी मूल्यको दही विक्री भएको छ । औपचारिक क्षेत्रका दुग्ध विकास संस्थान, नेपाल डेरी एशोसिएशन, डेरी उद्योग संघ र अन्य सहकारीलगायत अनौपचारिक क्षेत्रले असार १५ को अवसरमा एकै दिन कुल १९ करोड २२ लाख ११ हजार रुपैयाँ बराबरको १६ लाख ७१ हजार ४ सय लिटर दही विक्री गरेका हुन् ।

राष्ट्रिय दुग्ध विकास बोर्डले दिएको जानकारीअनुसार मंगलवार एकै दिन डेरी उद्योग संघले सबैभन्दा धेरै ८ करोड ५ लाख रुपैयाँको ७ लाख लिटर बराबर दही विक्री गरेको छ । देशभरका विभिन्न सहकारीलगायत अन्य अनौपचारिक क्षेत्रले ५ करोड ७५ लाख रुपैयाँ बराबरको करीब ५ लाख लिटर दही विक्री गरेका छन् ।

नेपाल डेरी एशोसिएशनले ४ करोड ७० लाख रुपैयाँ बराबरको कुल ४ लाख लिटर दही विक्री गरेको छ भने दुग्ध विकास संस्थानले पनि ८२ लाख ११ हजार रुपैयाँको ७१ हजार ४ सय लिटर दही विक्री गरेको छ ।

बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तले असार १५ मा उल्लेख्य रूपमा दहीको विक्री हुन नसकेको बताए । उनका अनुसार सामान्य अवस्थामा यो दिनमा देशभर करीब २५ लाख लिटरसम्म दही विक्री हुने गथ्र्याे । असार १५ लाई गाउँदेखि शहरसम्मका सबै नेपालीले दही चिउरा खाने दिनका रूपमा मनाउने प्रचलन रहेको छ । बोर्डका अनुसार महामारीका कारण अहिले दुग्ध विकास संस्थानको दहीको खपतमा १० प्रतिशतले कमी आएको छ भने निजीक्षेत्रको दही खपतमा पनि करीब ३५ प्रतिशतले कमी आएको छ । पछिल्लो समय निषेधाज्ञा खुकुलो हुँदै गएपछि दुग्ध पदार्थको बजारमा विस्तारै सुधार हुँदै गएको छ । निषेधाज्ञाका कारण दुग्ध पदार्थको बढी खपत हुने क्षेत्रहरू होटेल, रेस्टुराँ, पार्ट प्यालेसहरू बन्द रहेकाले खपतमा कमी आएको दुग्ध विकास संस्थानका महानिर्देशक रुद्रप्रसाद पौडेलले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More