Home अर्थतन्त्र नेपाल एयरलाइन्सलाई पब्लिक कम्पनी बनाउने प्रस्ताव

नेपाल एयरलाइन्सलाई पब्लिक कम्पनी बनाउने प्रस्ताव

by अर्थन्यूज

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई पब्लिक कम्पनी बनाउने प्रस्ताव गरिएको छ । निगम सञ्चालक समितिले पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावली मस्यौदा गरी सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको छ । निगम सञ्चालक समितिले निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावली मस्यौदा गर्न सञ्चालक समिति सदस्य किशोर प्रधानको संयोजकत्वमा समिति गठन गरेको थियो ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले प्रबन्धपत्र र नियमावली मन्त्रालयमा बुझाएपछि अब रणनीतिक साझेदार भित्र्याउने विषयमा बहस शुरु हुने बताए । ‘हामीले प्रबन्धपत्रको प्रस्तावित ढाँचा मन्त्रालयमा बुझाएका छौं,’ उनले भने, ‘निकै लामो प्रक्रियाको बहस यहाँबाट शुरु भएको छ ।’ तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले २०७६ साल असोजमा निगमका वर्तमान अध्यक्ष सुशील घिमिरेको अध्यक्षतामा निगम व्यवस्थापन सुधारका विषयमा सुझाव समिति गठन गरेका थिए ।

यो समितिले दिएको सेयर संरचनासम्बन्धी सुझावका आधारमा प्रबन्धपत्रको नियमावलीको ढाँचा तयारी पारी सरकारलाई बुझाइएको महाप्रवन्धक पौडेलले जानकारी दिए । उनका अनुसार ढाँचामा निगममा रणनीतिक साझेदार भित्र्याउने र त्यसका लागि सरकारको बहुमत सेयर रहने गरी पब्लिक कम्पनी बनाउने प्रस्ताव गरिएको छ । सुझाव समितिले नेपाल सरकार (कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, नेपाल टेलिकम, बिमा समूह र अन्य इच्छुक र सक्षम सार्वजनिक संस्था)को ५१ प्रतिशत सेयर हिस्सा रहने गरी लगानी संरचनाको प्रस्ताव गरेको थियो ।

कम्पनीको अधिकृत पुँजी २ सय अर्ब पु¥याउने र त्यसमा विदेशी साझेदार वा नेपाली लगानीकर्ता, नेपाल एयरलाइन्सका वर्तमान तथा भुपू कर्मचारी, निजामती कर्मचारी, पर्यटन व्यवसायी र संघसंस्था तथा सर्वसाधारण लगानीकर्तासम्मलाई लगानी गर्न सक्ने गरी लगानी संरचनाको सुझाव समितिले दिएको थियो । यसै समितिको सुझावलाई समेटेर निगमले प्रवन्धपत्र र नियमावलीको ढाँचा बनाई मन्त्रालयका प्रस्ताव गरिएको महाप्रवन्धक पौडेलले जानकारी दिए । महाप्रबन्धक पौडेलका अनुसार मन्त्रालयलाई प्रबन्धपत्र र नियमावलीको ढाँचा पठाएसँगै अब सरकारले यस प्रस्तावबारे व्यापक छलफल गराउँछ । रणनीतिक साझेदार ल्याउन सक्ने अनेक मोडालिटीमा छलफल भई ठोस प्रस्ताव बन्ने उनी बताउँछन् । उनी भन्छन्, ‘नेपाल सरकारको निर्णय नै निगमका लागि सर्वमान्य हुन्छन् ।’

निगमले पब्लिक कम्पनी बनाउने गरी प्रबन्धपत्र र नियमावली बनाएपछि कर्मचारी भने आन्दोलित बनेका छन् । उनीहरुले निगमलाई कम्पनी मोडलमा लैजान नहुने र निगमलाई सार्वजनिक संस्थान कै रुपमा अस्तित्व कायम राख्नु पर्ने माग गरेका छन् । उनीहरुले गत शुक्रबारदेखि निगमको महाप्रबन्धक र निर्देशकहरुको कार्यकक्षमा तालाबन्दी गरेका छन् । निगमकी प्रवक्ता करिष्मा श्रेष्ठले निगमलाई सार्वजनिक संस्थानकै अस्तित्वमा कायम राख्नुपर्ने कर्मचारीको माग रहेको बताइन् । उनले भनिन्, ‘सार्वजनिक संस्थानका रुपमा निगमको अस्तित्व मेट्न पाइँदैन, निगम बचाउनुपर्छ र यसको संरचना पुनसंरचना गर्ने क्रममा अनेक विकल्पमा छलफल गर्नुपर्ने कर्मचारीको माग छ ।’

सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट वक्तव्यमा नेपाल वायुसेवा निगमको पुनसंरचना गरी व्यवसायिक एवं प्रतिस्पर्धी बनाउने उल्लेख गरेको छ ।
त्यसका लागि खुला प्रतिस्पर्धाको माध्यमबाट रणनीतिक साझेदार भित्राउने प्रक्रिया शुरु गर्ने र निगमको सेयर पुँजी संरचना परिवर्तन गरी वृद्धि गर्ने पनि उल्लेख गरेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More