Home ऊर्जा उत्पादन सुरु भएको २४ घण्टा नपुग्दै माथिल्लो तामाकोसीको शेयरमूल्य ह्वात्तै घट्यो

उत्पादन सुरु भएको २४ घण्टा नपुग्दै माथिल्लो तामाकोसीको शेयरमूल्य ह्वात्तै घट्यो

by अर्थन्यूज

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट ११ वर्षपछि औपचारीक रूपमा विद्युत् उत्पादन भएसँगै उक्त कम्पनीको शेयरमूल्य आकाशिने आकलन गरिएको थियो । तर, उत्पादन सुरु भए पनि त्यसको प्रभाव कम्पनीको शेयरमूल्यमा देखिएको छैन । बरु उल्टै दुई दिनमै ८ प्रतिशतभन्दा बढीले शेयरमूल्य घटेको छ ।

उत्पादन उद्‌घाटनको दिन पनि घटेको शेयरमूल्य भोलिपल्ट पनि ५ प्रतिशतले घट्न पुगेको छ । यो दुई दिनमा माथिल्लो तामाकोसीको शेयरमूल्य १ सय ७ रुपैयाँले घटेको हो ।

योसँगै मंगलबार १ सय ६ कम्पनीको शेयरमूल्यको अवस्था उस्तै रह्यो । कारोबारमा आएका कम्पनीमध्ये यी कम्पनीको शेयरमूल्य घटेको हो । शेयरबजार परिसूचक नेप्से ५ दशमलव २४ अंकले घटेर २९१९ दशमलव १० अंकमा पुगेको छ भने सेन्सेटिभ परिसूचक पनि १ दशमलव ९७ अंकले घटेको छ ।

मंगलबार नेप्से सूचकसँगै कारोबार रकम पनि संकुचित बन्न पुगेको छ । मंगलबार कारोबारमा आएका २ सय २० कम्पनीको १ करोड १ लाख ३५ हजार २ सय ९ कित्ता शेयर ४६ हजार ३ सय १० पटक किनबेच हुँदा कुल ४  अर्ब २२ करोड ४० लाख १८ हजार २ सय ५५ रुपैयाँको कारोबार भएको छ ।

नेप्से सूचक ओरालो लागेसँगै उपसमूहका अधिकांश सूचक घटेका छन् । उपसमूहमा निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, जीवन बीमाका सूचक बढेका छन् भने यीबाहेक सबै उपसमूहका सूचक घटेका छन् ।

घटेको बजारमा पनि राष्ट्रिय बीमा कम्पनीको भने १६ सय ९२ रुपैयाँ अर्थात् ८ दशमलव ३१ प्रतिशतले शेयरमूल्य बढेको छ । योसँगै माउन्टेन इनर्जीको ५ प्रतिशतले शेयरमूल्य घटेको छ । योबाहेक आजको कारोबारबाट ५६ अन्य कम्पनीले कमाए ।

यता १ सय ६ कम्पनीले गुमाउँदा सबैभन्दा अगाडि भने हाइड्रोइलेक्ट्रिसिटी आइपुगेको छ । यो कम्पनीको २६ रुपैयाँ अर्थात् ५ दशमलव ५३ प्रतिशतले शेयरमूल्य घटेको हो ।

सोही हारहारीमा माथिल्लो तामाकोसीको पनि शेयरमूल्य घटेको छ । यो कम्पनीको ३८ रुपैयाँले शेयरमूल्य घटेको छ । शेयरमूल्य घट्नेमा अगाडि आएको तामाकोसीमा लगानीकर्ताको चाप पनि उस्तै देखिन्छ ।

घट्नेमा दोस्रो नम्बरमा आएको माथिल्लो तामाकोसी आजको सर्वाधिक कारोबार भएको कम्पनीको सूचीमा पनि दोस्रो नम्बरमै छ । यसको आज एकै दिन २० करोड ५२ लाख ४६ हजार ८ सय ६ रुपैयाँको शेयर किनबेच भएको हो । योभन्दा अगाडि भने हिमालयन डिस्टिलरी छ । यो कम्पनीको ३५ करोड ८९ लाख २ हजार ७ सय ४५ रुपैयाँको शेयर किनबेच भएको हो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More