Home रोजगारी प्रधानमन्त्री रोजगार कार्यक्रमबाट चालू आवमा डेढ लाखलाई रोजगारी

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट चालू आवमा डेढ लाखलाई रोजगारी

by अर्थन्यूज

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट चालू आर्थिक वर्षमा डेढ लाखभन्दा बढीले रोजगारी पाएका छन् । २०७५ फागुनमा घोषणा गरिएको उक्त कार्यक्रममार्फत गत आर्थिक वर्ष २०७६–७७ को तुलनामा चालू आव २०७७÷७८ मा रोजगारी पाउनेको संख्या र कार्यदिन दुवै बढेको छ । गत आवमा १ लाख पाँच हजार ३६५ व्यक्तिलाई रोजगारी दिइएकोमा यो आवमा हालसम्म १ लाख ५५ हजार ५५९ जना लाभान्वित भएका छन् ।

गत आवमा रोजगारी पाएका एक व्यक्तिको औसत १६ कार्यदिन रहेकामा यो वर्ष औसत ६० कार्यदिन पुगेको छ । रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक सुमन घिमिरेले तीन वर्षको तुलनामा यो वर्ष रोजगारी पाउनेको संख्या र कार्यदिन उल्लेख्य मात्रामा बढे पनि कोरोनाका कारण लक्ष्यअनुरूप सफलता पाउन नसकिएको बताए ।

यसअघि कार्यक्रमका लागि खर्च हुने सबै रकम केन्द्रबाट पठाउने गरिएकोमा यसपटक स्थानीय सरकारले पनि कार्यक्रममा साझेदारी गर्नुपर्ने नयाँ नीतिगत व्यवस्था गरिएको थियो । सो निर्णय गत असोजमा गरियो । स्थानीय निकायको बजेट गत वर्षकै असारमा बनिसकेकाले समेत कार्यक्रमलाई केही प्रभाव पारेको छ ।

आगामी आवका लागि रु १२ अर्ब विनियोजन गरेर २ लाख व्यक्तिलाई १०० दिनको रोजगारी दिने पनि बजेटमा उल्लेख छ । ५ वर्षभित्रमा बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गर्ने लक्ष्यसहित सरकारले २०७५ फागुन १ गते घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम सार्वजनिक गरेको थियो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More