Home अपराध नक्कली भ्याट बिलबाट ६६ करोड राजस्व छलि

नक्कली भ्याट बिलबाट ६६ करोड राजस्व छलि

by अर्थन्यूज

झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक (भ्याट बिल) जारी गरेर राजस्व छलि गर्ने ३ वटा फर्मका सञ्चालक तथा कारोबारीविरुद्ध ६६ करोड बढी बिगो दाबी गर्दै मुद्दा दर्ता गरिएको छ । राजश्व अनुसन्धान विभागले रौतहटको साविक ब्रह्मपुर गाविस–७ को मनिराज सप्लायर्स र रौतहटकै साविक तेजपाकड गाविस–५ ठेगाना भएको शिव ट्रेडर्स र अल्का सप्लायर्सका सञ्चालक तथा कारोबारीविरुद्ध ६६ करोड ८६ लाख ७३ हजार ४३८ रुपैयाँ बिगो दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

विभागका अनुसार मनिराज सप्लायर्सका संचालक राज देवी तथा उक्त फर्मका मुख्य कारोबारी गर्ने व्यक्ति राजाराम महतोले मालबस्तु स्थानीय खरिद तथा आयात नगरी झुटो खरिद देखाइ विभिन्न फर्मलाई बिक्री विजक मात्रै जारी गर्ने गरेको देखिएको छ । उनीहरुले विभिन्न खरिदकर्तालाई भ्याट बिल जारी गरी उनीहरुबाट राजस्व अनुसारको रकम लिने गरेको पनि खुल्न आएको बताइएको छ ।

विभागले दुवैजनाविरुद्ध ४१ करोड ५१ लाख ३१ हजार ८५४ रुपैयाँ बिगो कायम गर्दै बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ । त्यस्तै, शिव ट्रेडर्सका प्रोप्राइटर तथा अल्का सप्लायर्सका मुख्य कारोबारी ओमप्रकाश सिंह भुमिहारविरुद्ध २५ करोड ३५ लाख ४१ हजार ५८४ रुपैयाँ बिगो दाबी गरेर उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ ।

विभागका अनुसार भुमिहारले मालबस्तु स्थानीय खरिद तथा आयत नगरी विभिन्न फर्महरुबाट झुटा तथा नक्कली भ्याट बिल लिएर आयकरतर्फ खर्च दाबी र भ्याटतर्फ कर कट्टी दाबी गरेर भ्याट र आयकर समेतको राजस्व चुहावट गरेको देखिएको छ । विभागका अनुसार उनले भ्याटतर्फ ७ करोड ४५ लाख ८६ हजार ४ सय ९० रुपैयाँ र आयकर तर्फ १७ करोड ८९ लाख ५५ हजार ९४ रुपैयाँ गरी २५ करोड ३५ लाख ४१ हजार ५८४ रुपैयाँ बराबरको राजस्व छलि गरेका देखिएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More