Home अर्थतन्त्र दुई महिनामै विदेशी मुद्राको सञ्चिति ९३ अर्ब घट्यो, ब्यापार घाटा ७० प्रतिशत बढ्यो

दुई महिनामै विदेशी मुद्राको सञ्चिति ९३ अर्ब घट्यो, ब्यापार घाटा ७० प्रतिशत बढ्यो

by अर्थन्यूज

दुई महिनामै विदेशी मुद्राको सञ्चिति ९३ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असार मसान्तमा कुल १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति भदौ मसान्तमा आउँदा १३ खर्ब ६ अर्ब ९५ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा भदौ मसान्तमा ५.२ प्रतिशतले कमी आई ११ अर्ब १४ करोड कायम भएको छ ।मुलुकको ब्यापार घाटा चुलिँदै जाने र रेमिट्यान्स आप्रवाह घट्दै जाँदा विदेशी मुद्रामा चाप परेको हो । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको ब्यापार घाटा ७०. ८ प्रतिशतले बढेको छ । गत वर्षको साउन र भदौको तुलनामा यो वर्षको सोही अवधिमा ब्यापार घाटा ७०.८ प्रतिशतले बढेको हो । साउन र भदौमा नेपालको ब्यापार घाटा २ खर्ब ७० अर्ब ४८ करोड पुगेको छ ।

दुई महिनामा देशमा कुल ३ खर्ब १४ अर्ब ५२ करोड रुपैयाँको बस्तु आयात भएको छ । समीक्षा अवधिमा कुल वस्तु आयात ७५.९ प्रतिशतले बढेको हो । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, सुन, चाँदी लगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, सिमेन्ट, सुर्ती, मोलासिस सुगर, दाल लगायत वस्तुको आयात घटेको छ ।

चालु आवको पहिलो दुई महिनामा ४४ अर्ब ४ करोडको बस्तु निर्यात भएको छ । सोयाविन तेल, पाम तेल, पिना, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, आयुर्वेदिक औषधी, तार, जस्तापाता, अलैंची लगायतका वस्तुको निर्यात घटेको छ ।

रेमिट्यान्सको आप्रवाह भने घटेको छ । चालु आवको साउन र भदौमा १ खर्ब ५५ अर्ब ३७ करोड रेमिट्यान्स भित्रिएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ६.३ प्रतिशतले कमी हो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा बढेको छ । दुई महिनामा कुल ३८ हजार ४९२ जनाले श्रम स्वीकृति लिएका छन् ।

अघिल्लो वर्षको यस्तो संख्या ९९.२ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा उल्लेख्य बढेर २२ हजार ९७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८६.५ प्रतिशतले घटेको थियो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More