विभिन्न पाँच जीवन बीमा कम्पनीहरुले नयाँ बोनसदर सार्वजनिक गरेका छन् । प्राइम लाइफ इन्स्योरेन्स, मेट लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेका छन् ।
प्राइम लाइफ इन्स्योरेन्स
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण बीमा समितिबाट असोज ६ गते स्वीकृती पाएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको छ ।कम्पनीको सावधिक जीवन बीमालेखमा बीमा अवधिको आधारमा प्रति हजार न्यूनतम ३५ रुपैयाँ देखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउने छन् । कम्पनीले सावधिक तथा आजीवन बीमालेख बीमा अवधिको आधारमा न्युन्तम ३६ रुपैयाँदेखि ७५ रुपैयाँ, अग्रिम भुक्तानी सावधिक बीमालेखमा ४० रुपैयाँदेखि ७० रुपैयाँ र प्राइम जीवन उपहार अग्रिम भुक्तानीमा ३२ रुपैयाँ र सावधिक बीमामा ४० रुपैयाँ बोनस दर तोकिएको छ ।
मेट लाइफ इन्स्योरेन्स
अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी (मेटलाइफ) ले आर्थिक वर्ष २०७६/७७ को बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो । कम्पनीको सावधिक जीवन बीमा र शिक्षा संरक्षण बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ बोनस पाउनेछन् । अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना भने न्युनतम ४५ रुपैयाँ देखि ६५ हजार रुपैयाँ बोनस पाउने छन् ।
एशियन लाइफ इन्स्योरेन्स
एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को लागि बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको बीमांकीय प्रतिवेदन बीमा समितिबाट कात्तिक ३ गतेको पत्रबाट स्वीकृत भएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो । कम्पनीको सावधिक तथा आजीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ, बालबालिका सावधिक जीवन बीमामा न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँ, सावधिक जीवन बीमालेखमा न्युनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँ र अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनामा ४४ रुपैयाँ देखि ७० रुपैयाँ बोनस पाउनेछन् ।
सूर्या लाइफ इन्स्योरेन्स
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको बीमांकीय प्रतिवेदन बीमा समितिबाट कात्तिक ५ गतेको पत्रबाट स्वीकृत भएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो । कम्पनीको अग्रिम भुक्तानी सावधिक बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँ, सावधिक जीवन बीमामा न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँ बोनसदर घोषणा गरेको हो ।
सिटिजन लाइफ इन्स्योरेन्स
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को लागि बोनसदर घोषणा गरेको छ । कम्पनीले न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले अग्रमि भुक्तानी सावधिक जीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म, सावधिक जीवन बीमा योजनामा प्रति हजार न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म, सिटिजजन शुभारम्भ योजना ९सावधिक० बीमालेखमा न्युनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस घोषणा गरेको हो । त्यस्तै, वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा न्युनतम २५ रुपैयाँदेखि ३५ रुपैयाँसम्म र सावधिक तथा आजीवन बीमालेखमा न्युनतम ३६ रुपैयाँदेखि ७० रुपैयाँसम्म बीमितले बोनस पाउनेछन् ।