Home Uncategorized क्रिप्टोकरेन्सी तथा हाइपर फण्ड अवैध हुन्, कारोबार नगर्नू: राष्ट्र बैंक

क्रिप्टोकरेन्सी तथा हाइपर फण्ड अवैध हुन्, कारोबार नगर्नू: राष्ट्र बैंक

by अर्थन्यूज

नेपालमा क्रिप्टोकरेन्सी, हाइपर फण्ड, भर्चुअल करेन्सी तथा नेटवर्क मार्केटिङ अवैध भएकोले कारोबार नगर्न नेपाल राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गरेको छ । नेपालमा यसको अवैध कारोबार हुने गरेको र सर्वसाधारण ठगिने गुनासो आउन थालेपछि राष्ट्र बैंकले आइतवार एक सूचना जारी गर्र्दै यस्तो कारोबार नगर्न आग्रह गरेको छ । कसैले यस्तो सूचनाको बेवास्ता गरी अवैध कारोबार गरेको पाइएमा कानून बमोजिम कारवाही हुने पनि राष्ट्र बैंकले उल्लेख गरेको छ ।

छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीसहितको कारोबार हुने गरेकोले त्यसमा आबद्ध नहुन र कारोबार नगर्न राष्ट्र बैंकले आम सर्वसाधारणसमक्ष अनुरोध गरेको छ । भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीसँग सम्बन्धित हाइपर फण्ड जस्ता कोषमा लगानी गर्न र जोसियल, क्राउड १, सोलेम्याक्स ग्लोबलजस्ता पिरामिड आधारमा नेटवर्किङमा आबद्ध नहुन तथा कारोबार नगर्न राष्ट्र बैंकले आग्रह गरेको हो ।

नेपालमा विदेशी विनियम वा मुद्राको रूपमा भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीले कानूनी मान्यता नपाएकोले त्यस अनुसारका गैरकानूनी बित्तीय औजारमा आबद्ध भई कारोबार गर्न नहुने उल्लेख छ । यस्तो कारोबारबाट सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिने र स्वदेशी पुँजी पलायन हुने भएकाले नेपालमा यस्तो कारोबार अवैधानिक भएको राष्ट्र बैंकको भनाइ छ । यस्तो कारोबार वा व्यवसायमा नेपालबाट वा बाहिर बस्ने नेपाली कसैले पनि कारोबार गर्न नहुने र कारोबार गरेको पाइएमा कारवाही हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More