Home अपराध २५ वटा हेमोडायलाइसिस मेसिन खरिदमा मधेश स्वास्थ्य आपूर्ति केन्द्रको सेटिङ

२५ वटा हेमोडायलाइसिस मेसिन खरिदमा मधेश स्वास्थ्य आपूर्ति केन्द्रको सेटिङ

by अर्थन्यूज

मधेश प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले हेमोडायलाइसिस मेसिन खरिदका क्रममा सेटिङ गर्दै आफू निकटका व्यापारीलाई टेण्डर उपलब्ध गराएको तथ्य फेला परेको छ।

प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले २५ वटा हेमोडायलाइसिस मेसिन खरिदको जिम्मा सेटिङमा बढी रकम हाल्ने कम्पनीलाई दिएको फेला परेको हो। केन्द्रले बोलपत्रको प्रतिस्पर्धामा कम रकम कबोल गर्ने कम्पनीलाई बाइपास गर्दै बढी रकम कबोल गर्ने लभ मेडिकल हललाई खरिदको जिम्मा दिएको छ।

स्वास्थ्यखबरलाई प्राप्त विवरण अनुसार लभ मेडिकल हलले ३ करोड ६८ लाख ७५ हजार रुपैयामा २५ वटा उपकरण खरिदको जिम्मा पाएको छ। केन्द्रले उक्त रकमभन्दा झण्डै ३० लाख रुपैयाँ कम कबोल गरेको कम्पनीलाई बाइपास गर्दै सेटिङमा बढी कबोल गर्नेलाई खरिदको जिम्मा दिएको हो।

केन्द्रका एक कर्मचारीले स्वास्थ्यखबरलाई उपलब्ध गराएको विवरण अनुसार ३० लाख रुपैयाँ कममा २५ वटा मेसिन उपलब्ध गराउँछु भन्ने कम्पनी मेडिक्यूप्स प्राली हो। उक्त कम्पनीले ३ करोड ३८ लाख ८८ हजार ८७५ रुपैयाँमा केन्द्रले माग गरे अनुसारका हेमोडायलाइसिस मेसिन उपलब्ध गराउँछु भनेको छ।

‘हाम्रै कार्यालय (प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र)का केही ठूला कर्मचारीको मिलेमतोमा बढी रकम कबोल गर्नेलाई खरिदको जिम्मा दिइएको छ’ केन्द्रका एक कर्मचारीले भने, ‘यसमा कमिसनको चक्कर छ। कमिसनकै लागि राज्यको बढी रकम खर्च हुने देखियो।’

ती कर्मचारीका अनुसार कम रकम कबोल गर्ने कम्पनीले खरिद प्रक्रियालाई पुनरावलोकन गर्न निवेदन हालेको छ। कम्पनीले सबै प्रक्रिया पूरा गरेको र आफूले कम रकम कबोल गरेको भन्दै केन्द्रको निर्णय पुनरावलोकन गर्न निवेदन हालेको हो। 

केन्द्रले चैत २४ गते बोलपत्र आह्वान गरेको थियो। उक्त बोलपत्रको सूचना अनुसार प्रस्ताव पेश गर्ने कम्पनीमध्ये केन्द्रले जेठ २१ गते लभ मेडिकल हलको प्रस्ताव स्वीकृत गरेको सूचना सार्वजनिक गरेको छ।

 

स्वास्थ्यखबर

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More